आज चन्द्रग्रहण, नेपाल सहित दक्षिण एसियाका देशबाट देख्न सकिने

User Image Prime TV News ४ हप्ता अगाडि
Image of आज  चन्द्रग्रहण, नेपाल सहित दक्षिण एसियाका देशबाट देख्न सकिने

काठमाडौं । आज भाद्र शुक्ल पूर्णिमाका दिन राति नेपालभर खग्रास चन्द्रग्रहण देखिने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श हुनेछ भने १ः४१ बजे मोक्ष हुनेछ। ग्रहणको मध्य समय राति ११ः५६ मा पर्नेछ। यस ग्रहणको खग्रास अवस्था १ घण्टा २३ मिनेट रहनेछ भने सम्पूर्ण ग्रहण अवधि करिब ३ घण्टा ३० मिनेट हुनेछ। नेपाल, भारतसहित दक्षिण एसियाका विभिन्न देशहरूबाट यो ग्रहण सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने बताइएको छ।

चन्द्रग्रहणसँगै आजको दिन धार्मिक दृष्टिले पनि विशेष मानिन्छ। ग्रहणकालमा सूतक लाग्ने भएकाले दिउँसो १ः११ बजेदेखि नै बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ। धार्मिक शास्त्र अनुसार ग्रहणको समयमा सुत्न, खानपिन गर्न, मैथुन, तेल लगाउने, कसैलाई बाँध्ने वा हानि पुर्‍याउने कार्य गर्न नहुने मान्यता रहेको छ। ग्रहण अवधिमा मन्त्रजप, ध्यान, पाठ, हवन तथा दान–पुण्य जस्ता कार्यलाई शुभ मानिन्छ।

ज्योतिषशास्त्रअनुसार यो ग्रहणले विभिन्न राशिमा फरक असर पार्नेछ। मेष, वृष र धनु राशिका लागि लाभदायक मानिए पनि मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका व्यक्तिहरूले ग्रहण नहेर्न सल्लाह दिइएको छ। विशेषगरी शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्मेका तथा कुम्भ राशिका व्यक्तिहरूका लागि यो ग्रहण अत्यन्त कष्टदायक हुने बताइएको छ। यसका साथै सिंह राशिका पुरुष र स्त्री दुवैका लागि यो ग्रहण अप्रिय फल दिने उल्लेख छ।

यद्यपि, वैज्ञानिक दृष्टिकोणले चन्द्रग्रहण एक पूर्णतः प्राकृतिक र हानिरहित खगोलीय घटना हो। वैज्ञानिकहरूका अनुसार खुला आँखाले ग्रहण हेर्दा स्वास्थ्यमा कुनै असर नपर्नेछ। बरु खगोलप्रेमी, विद्यार्थी र अनुसन्धानकर्ताका लागि यो एक दुर्लभ अवसर बन्नेछ।

यस वर्षको अर्को चन्द्रग्रहण फाल्गुन १९ गते मंगलबार पर्नेछ, जुन खण्डग्रास र ग्रस्तोदित हुनेछ। त्यसअघिको आजको खग्रास चन्द्रग्रहण भने धार्मिक, ज्योतिषीय र वैज्ञानिक सबै दृष्टिकोणबाट महत्वपूर्ण मानिएको छ।