आठ वाम दलबीच एकता गर्न लिखित सहमति, १९ गते औपचारिक रूपमा एकता घोषणा
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रसहित आठ वाम दलबीच एकता गर्न लिखित सहमति भएको छ। आइतबार पेरिसडाँडामा बसेको बैठकले १८ बुँदे सहमतिमा हस्ताक्षर गर्दै पार्टी एकीकरणको प्रक्रिया औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको हो।
सहमतापत्र अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय र आर्थिक एवं सामाजिक रूपान्तरणमार्फत समाजवादी लक्ष्य हासिल गर्न वाम शक्तिहरू एक ठाउँमा उभिन आवश्यक भएको निष्कर्ष निकालिएको छ।
एकतामा सहभागी दलहरूमा नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, समाजवादी जनसमाज पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी), नेकपा (समाजवादी), नेकपा (साम्यवादी) र अर्को एक वाम समूह रहेका छन्।
दलहरूले १८ बुँदे सहमतिअनुसार संगठनात्मक र राजनीतिक समन्वय गर्दै चरणबद्ध रूपमा एकीकृत संरचना निर्माण गर्ने उल्लेख गरेका छन्।
यसैबीच, दलहरूले आगामी १९ गते औपचारिक रूपमा एकता घोषणा गर्ने तयारी गरेको जनाइएको छ।








