राहदानी विभागले अब दैनिक एक हजार थान राहदानी वितरण गर्ने
Prime TV News १० महिना अगाडि 
काठमाडौ । राहदानी सेवामा देखिएको अव्यवस्थापछि राहदानी विभागले अब दैनिक एक हजार थान राहदानी वितरण गरिने जनाएको छ। सार्वजनिक बिदा बाहेक हरेक दिन राहदानी उपलब्ध हुने विभागले स्पष्ट पारेको छ।
विद्युतीय राहदानी आपूर्तिका लागि साउनमा नयाँ आपूर्तिकर्तासँग सम्झौता भइसकेको र सम्झौताअनुसार आवश्यक पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको विभागले जानकारी दिएको छ। नयाँ प्रणालीमार्फत सेवा आगामी फागुन ११ गतेदेखि सुरु हुने तयारी गरिएको विभागको भनाइ छ।
हालको आपूर्तिकर्ता र नयाँ आपूर्तिकर्ताबीचको हस्तान्तरण प्रक्रिया, राहदानी पुस्तिकाको सीमित उपलब्धता र सेवाग्राहीको चापका कारण केही समयदेखि वितरणमा समस्या देखिएको विभागले स्वीकार गरेको छ। राहदानी अभाव नहोस् भन्न आवश्यक कदम चालिन लागेको विभागले जनाएको छ।
आगामी सूचना नभएसम्म अत्यावश्यक सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन दिन विभागले आग्रह गरेको छ। साथै, राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र ठगीबाट सावधान रहन विभागले सतर्कता अपिल समेत गरेको छ।







