अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा १२ जनाको मृत्यु
Prime TV News १० महिना अगाडि 
काठमाडौ । उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार ए शरीफ नजिक गएको शक्तिशाली ६.३ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार कम्तीमा १२ जनाको मृत्यु भएको र सयौँ मानिस घाइते भएका छन्।
देशको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प सोमबार बिहान गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, यसको केन्द्रविन्दु मजार ए शरीफबाट करिब ३० किलोमिटर टाढा र २८ किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पका कारण मजार ए शरीफको प्रसिद्ध ब्लु मस्कमा समेत देखिने गरी क्षति पुगेको बताइन्छ। अफगानिस्तानको सांस्कृतिक सम्पदामध्ये एक मानिने यो मस्जिदलाई इस्लामका चौथो खलीफा तथा पैगम्बर मोहम्मदका ज्वाइँ हजरत अलीको विश्रामस्थलका रूपमा मानिन्छ।
यूएसजीएसका अनुसार भूकम्पको कम्पन ताजिकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको थियो। प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य तीव्र गतिमा भइरहेको बताइएको छ।







