नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज समापन हुँदै


काठमाडौ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज समापन हुँदैछ। महाधिवेशनमा उठेका जिज्ञासाको जवाफ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिनेछन्। साथै, विभिन्न प्रस्ताव तथा प्रतिवेदनहरू पारित गर्दै महाधिवेशन टुंग्याइने एमालेले जनाएको छ।
भदौ २० गतेदेखि सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूलाई लिएर १० समूह बनाएर छलफल गरिएको थियो। शनिबारसम्म छलफल सम्पन्न भइसकेको र आज बिहान ८ बजेदेखि सुरु भएको बन्दसत्रमा समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्य जारी रहेको एमालेले जनाएको छ । यस्तै केन्द्रीय निर्वाचन आयोगको निर्वाचन पनि सम्पन्न हुने र त्यसपछि महाधिवेशन औपचारिक रूपमा समापन गरिने वताईएको छ ।
समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ। उक्त समितिले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक अवस्था तथा जनजीविकासम्बन्धी मुद्दामा पार्टीको धारणा तय गर्नेछ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित सुरु भएको यो विधान महाधिवेशनमा देशभरबाट २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा थप ३१५ जना सहभागी भएका छन्।