चार उद्योगले तिरे प्रिमियम महसुलको पहिलो किस्ता
Prime TV News १० महिना अगाडि 
काठमाडौ । रुपन्देहीका चार उद्योगले लामो समयदेखि नतिरेको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएपछि विद्युत प्राधिकरणले उनीहरूको काटिएको लाइन पुनः जडान गरेको छ।
भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टील इन्डस्ट्रीज, सिद्धार्थ पेट प्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता बुझाएका हुन्।
२०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गर्दा तिर्नुपर्ने प्रिमियम महसुल उद्योगहरूले वर्षौँसम्म नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले केही समयअघि लाइन विच्छेद गरेको थियो। कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, किस्ता तिरेसँगै उद्योगहरूको विद्युत् आपूर्ति पुनः सुरु गरिएको छ।
बक्यौता रकममध्ये पञ्चकन्या प्लास्टिकले २४ लाख ६३ हजार रुपैयाँ, पञ्चकन्या स्टीलले ५२ लाख १९ हजार रुपैयाँ, सिद्धार्थ पेट प्लान्टले १ करोड ८३ लाख रुपैयाँ र श्याम प्लास्टिकले ४९ लाख १० हजार रुपैयाँ बुझाउनुपर्ने छ। बक्यौता २८ किस्तामा तिर्न सहमति अनुसार पहिलो किस्ता बुझाइएको प्राधिकरणले जनाएको छ।







