विशेष महाधिवेशन पक्षधरहरूको आज थापागाउँमा भेला, कांग्रेसभित्र मतभेद तीव्र
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा उभिएको समूहले आज दिउँसो थापागाउँस्थित एक बैंक्वेटमा विशेष भेला गर्दैछ। पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशनबारे ठोस निर्णय गर्न नसकेपछि असन्तुष्ट पक्षधरहरूले वैकल्पिक भेला बोलाएका हुन्।
नेता गुरूराज घिमिरेका अनुसार भेला आज मध्याह्न साढे १२ बजे सुरु हुनेछ। यसअघि आइतबारका लागि तय गरिएको भेला पार्टीले शुक्रबार केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्म स्थगित गरेपछि पछि सारिएको थियो।
विशेष महाधिवेशन पक्षधरहरूले गत २९ असोजमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित पार्टीमा विशेष महाधिवेशन बोलाउन माग गरेका थिए। तर, शीर्ष नेतृत्वले सो मागलाई औपचारिक रुपमा स्वीकृति नदिँदा असन्तुष्ट समूह सक्रिय बनेको हो।
नेताहरूका अनुसार आजको भेलाले विशेष महाधिवेशनका लागि आगामी रणनीति तय गर्ने र केन्द्रीय नेतृत्वमाथि दबाब बढाउने उद्देश्य लिएको छ।







