इजरायली आक्रमण गाजा सिटीका अग्ला भवनहरू दोस्रो दिन पनि निशानामा


काठमाडौ । इजरायली सेनाले गाजा सिटीमा रहेका अग्ला भवनहरूलाई लगातार दोस्रो दिन पनि आक्रमणको निशाना बनाएको छ। बीबीसीका अनुसार, पछिल्लो आक्रमणमा गाजा सिटीको सुसी टावर ध्वस्त पारिएको छ, जुन हालका दिनहरूमा ध्वस्त भएका भवनहरूमध्ये दोस्रो उच्च संरचना हो।
इजरायलका रक्षा मन्त्री योभ कात्जले सुसी टावर भत्किएको भिडियो सामाजिक सञ्जाल एक्समा शेयर गरेका छन्। उनले उक्त भवनलाई हमासको प्रयोगमा रहेको भन्दै सैन्य कारबाही आवश्यक भएको तर्क दिएका छन्।
इजरायली डिफेन्स फोर्सेसले हमासले सुसी टावरलाई सैन्य प्रयोजनका लागि प्रयोग गरिरहेको दाबी गरेको छ। तर हमासले यस आरोपलाई अस्वीकार गर्दै इजरायलले नागरिक संरचनाहरूलाई लक्षित गरिरहेको आरोप लगाएको छ।
आक्रमणअघि इजरायलले गाजाका बासिन्दाहरूलाई पर्चा वितरण गर्दै दक्षिणतर्फको मानवीय क्षेत्रमा सारिन आग्रह गरेको थियो। यस आक्रमणमा कति जनधनको क्षति भएको छ भन्ने बारेमा भने अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
गाजामा जारी तनाव र आक्रमणका घटनाहरूले मानवीय संकट थप चर्किएको छ।