जेनजी पुस्ताले निर्वाचनमार्फत देशको नेतृत्व लिनुपर्छः डा. भट्टराई
Prime TV News १० महिना अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालको युगान्तकारी र बलिदानीपूर्ण आन्दोलनपछि देशको नेतृत्व अब जेनजी पुस्ताले लिनुपर्ने सुझाव दिएका छन्। उनका अनुसार, युवापुस्ता मात्र परिवर्तनको स्थायी वाहक बन्न सक्छन्, त्यसका लागि उनीहरूले मतदाता सूचीमा समयमै नाम दर्ता गरी निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउनुपर्छ।
“देश–विदेशमा रहनुभएका सबै नेपालीहरूले नियम अनुसार वेलैमा नाम दर्ता गर्न हार्दिक आग्रह गर्दछु। यदि हामी निष्क्रिय भयौं भने, नेपाली राजनीतिमा उही पुरानै चक्र दोहोरिनेछ र युवाहरूले पछुताउनु पर्ने अवस्था आउन सक्छ,” भट्टराईले भने।
पूर्वप्रधानमन्त्री भट्टराईले मताधिकार र उम्मेदवारी सम्बन्धी कानुनी प्रावधानमा पनि परिवर्तन आवश्यक भएको बताए। उनका अनुसार, नागरिकता प्राप्त गर्ने र मतदान गर्ने उमेर समान १६ वर्ष कायम गर्नुपर्छ भने निर्वाचनमा उम्मेदवार बन्ने उमेर सीमा २५ वर्षबाट घटाएर १८ वा २१ वर्ष बनाइनु उपयुक्त बताएका छन् ।
उनले थपे, “यदि यस्तो सुधार भएन भने, पछिल्लो आन्दोलनका अगुवा जेनजी युवाहरूका लागि आसन्न निर्वाचन ‘जसको बिहे उसैलाई नजिक नल्या’ भन्ने लोकोक्तिजस्तै निराशाजनक बन्न सक्छ।”







