माओवादीले फेरि शुरु गर्यो पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियान


काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित जनसम्पर्क अभियानलाई पुनः शुरु गरेको छ। केही समयअघि वर्षाका कारण स्थगित गरिएको अभियानलाई माओवादीले फेरि सञ्चालनमा गरेको हो ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कास्कीको रूपा गाउँपालिका–१, स्थित सहिद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियानको दोस्रो चरणको औपचारिक सुरुपात गरेका हुन् । २०५८ सालमा तत्कालीन राज्य पक्षद्वारा हत्या गरिएका खनाल पूर्व शिक्षक थिए।
उनका जेठो छोरा प्रदीप खनाल २०६० सालदेखि बेपत्ता छन् भने बाँकी सन्तानहरूमध्ये छोरी सर्मिला खनाल र छोरा सुदीप खनाल माओवादी केन्द्रमा सक्रिय छन्। कार्यक्रमको अवसरमा सहिद खनालकी श्रीमती राधिका खनाल समेत अध्यक्ष प्रचण्डसँगै उपस्थित थिइन्।
यसअघि गत जेठ २ गते बैतडीको पाटनबाट अभियानको सुरुआत गरिएको थियो। तर अविरल वर्षाले गर्दा जेठ १० गते पोखरामा आई अभियान अस्थायी रूपमा स्थगित गरिएको थियो। पार्टीको साउन १६ र १७ गते सम्पन्न स्थायी समिति बैठकले बाँकी जिल्लाहरूमा भदौ २१ गतेदेखि अभियान अघि बढाउने निर्णय गरेको थियो ।