शाक्यको रिटमा कारण देखाउ आदेश जारी
Prime TV News १० महिना अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गर्दै सरकार र शाक्य पक्षलाई छलफलका लागि बोलाएको छ।
मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो। अदालतले सरकारले शाक्यलाई पदबाट हटाउने निर्णय कानुनसम्मत छ वा छैन भन्ने विषयमा दुबै पक्षको धारणा सुन्ने निर्णय गरेको छ।
शाक्यले सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएको भन्दै पुनर्बहालीको मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा उनले कुनै सुनुवाइको अवसर नदिई, एकपक्षीय रूपमा जिम्मेवारीबाट हटाइएको र आफूलाई अन्यत्र सरुवा गरिएको दाबी गरेका छन्।
शाक्यलाई अघिल्लो सरकारले चार वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। तर जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले ऊर्जा मन्त्री कुलमान घिसिङको सिफारिसमा उनलाई प्राधिकरणबाट हटाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञका रूपमा सरुवा गरेको थियो।







