नीति र नेतृत्व स्वीकार गर्नेहरूका लागि पार्टीको ढोका खुला छः एमाले सचिव भट्टराई
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका नेताहरू पार्टीमा फर्कन चाहने हो भने स्वागत गर्न तयार रहेको बताएका छन्। तर उनले त्यसका लागि जनताको बहुदलीय जनवाद प्रति स्पष्ट प्रतिबद्धता र एमालेको प्रतिस्पर्धात्मक नेतृत्वप्रति स्वीकृति आवश्यक हुने बताएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै हाम्रो एकताको मुख्य आधार हो। नीति र नेतृत्व अस्वीकार गरेर सहकार्य सम्भव छैन। जबज हाम्रो सिद्धान्त हो, नीति हो, यसलाई हामी सबैले मिलेर अझ परिष्कृत र समृद्ध बनाउन सक्छौं।”
उनले एमालेमा प्रवेश गर्न कुनै पूर्वशर्त होइन, बरु राजनीतिक जिम्मेवारी र साझा उद्देश्यप्रतिको निष्ठा हो भन्नेमा जोड दिएका छन्। “अमुक नेतालाई जिताउनै पर्ने पूर्वशर्त स्वीकार गर्ने या नगर्ने कुरा विवेकको विषय हो। तर एमालेमा समाहित हुनु शर्तभन्दा माथिको कुरा हो,” उनले लेखेका छन्।
हाल वाम दलहरूबीच एकता र सहकार्यबारे फेरि छलफल सुरु भएको बेला भट्टराईको यस्तो अभिव्यक्ति आएको हो। माओवादी केन्द्र, समाजवादी र जसपाबीच सम्भावित वाम मोर्चाको कुरा चलिरहेका बेला एमालेभित्र पनि एकताको एजेन्डा पुनः सक्रिय बन्न थालेको छ ।







