रामकुमारी झाँक्रीको निर्णय : एकीकृत समाजवादीसँगको राजनीतिक यात्रा अन्त्य

User Image Prime TV News १० महिना अगाडि
Image of रामकुमारी झाँक्रीको निर्णय : एकीकृत समाजवादीसँगको राजनीतिक यात्रा अन्त्य

काठमाडौ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो यात्रा औपचारिक रूपमा समाप्त भएको घोषणा गरेकी छिन्। वाम दलहरूबीच भइरहेको नयाँ एकता घोषणाबाट अलग रहँदै उनले आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत यो निर्णय सार्वजनिक गरेकी हुन्।

झाँक्रीले भनिन्, “एकीकृत समाजवादीसँगै अघि बढ्ने बाटो अवरुद्ध भएपछि अब हामीले उपयुक्त मार्ग पहिल्याएर नयाँ यात्रा सुरु गर्ने निर्णय गरेका छौं।” उनले एमाले फुटाएर एकीकृत समाजवादी बनाउँदा बीचमै यात्रा टुंग्याउन नसकेको स्मरण गर्दै अहिले त्यो अवसर आएको बताइन्। “आज पार्टीसँगको यात्रा टुंगिँदा एक हिसाबले हामी खुसी नै छौं,” झाँक्रीको भनाइ थियो।

संविधान र लोकतन्त्रमा संकट देखिएपछि नयाँ सोचका साथ एकीकृत समाजवादी निर्माण गरिएको उनले बताइन्। तर उनले पार्टीले सोचेअनुसार जनआकांक्षाको प्रतिनिधित्व गर्न नसकेको र चुनावी रुपमा पनि सफलता नपाएको कारण आफूहरूले नयाँ बाटो रोज्नुपरेको बताइन् । 

झाँक्रीले अबको आफ्नो राजनीतिक दिशाबारे खुलासा नगरे पनि उनले “नयाँ राजनीतिक यात्रा” सुरु गर्ने तयारी भइरहेको संकेत दिएकी छन्।