जोहरान ममदानी न्युयोर्कको नयाँ मेयर, इतिहास रच्दै पहिलो मुस्लिम र दक्षिण एसियाली-अमेरिकी मेयर बने
Prime TV News १० महिना अगाडि 
काठमाडौ । डेमोक्रायाटिक उम्मेदवार जोहरान ममदानीले न्युयोर्क शहरको मेयर पदको चुनाव जितेर इतिहास रचेका छन् । ३४ वर्षीय ममदानी न्युयोर्कको सबैभन्दा कान्छो मेयर भएका मात्र होइन, उनी यस शहरका पहिलो मुस्लिम र दक्षिण एसियाली-अमेरिकी मेयर पनि बनेका छन्।
ममदानीको विजयको पुष्टि भएसँगै उनका समर्थकहरू न्युयोर्कका विभिन्न स्थानमा उत्सव मनाउन थालेका छन्। ममदानीका समर्थकहरूले उनको ऐतिहासिक जितको अवसरमा खुशी व्यक्त गर्दै न्युयोर्कको भविष्यमा नयाँ दिशा दिने विश्वास व्यक्त गरेका छन्।
मेयर पदको लागि मुख्य प्रतिस्पर्धा ममदानी र पूर्व गभर्नर एन्ड्रयु कुओमोबीच भएको थियो। डेमोक्रायाटिक प्राइमरीमा ममदानीसँग पराजित भएपछि, कुओमोले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्न थालेका थिए। यस बीच, ममदानीले आफ्नो विचारधारा र नेतृत्व शैलीमा शहरको विविधता र समानतामा जोड दिँदै, आफ्नो उम्मेदवारीलाई बलियो बनाएका थिए।
न्युयोर्कको मेयरका रूपमा ममदानीको प्रमुख प्राथमिकता सामाजिक समानता, शहरी आवास र शहरी पुनर्निर्माणका योजनामा केन्द्रित रहने अपेक्षा गरिएको छ। उनले आफ्नो अभियानी क्रममा युवाहरूको आवाजलाई सम्बोधन गर्ने र वातावरणीय न्यायको पक्षमा पनि काम गर्ने प्रतिबद्धता जनाएका थिए।







