जेनजी आन्दोलन प्रकरण : रवि लामिछानेसँग ६ घण्टा बयान
Prime TV News १० महिना अगाडि 
काठमाडौ । जेनजी आन्दोलनको क्रममा कारागारबाट बाहिरिएको घटनाबारे जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ। आयोगले बुधबार सिंहदरबारस्थित कार्यालयमा करीब ६ घण्टासम्म लामिछानेसँग सोधपुछ गरेको हो।
आयोगको बयानका लागि लामिछानेलाई नक्खु कारागारबाट सिंहदरबार ल्याइएकाे थियो। भदौ २३ र २४ गतेका आन्दोलनमा लामिछानेलाई पार्टीका कार्यकर्ताले नक्खु कारागारबाट निकालेर लगेपछि अन्य थुनुवा समेत विभिन्न जेलबाट भागेका थिए।
अन्य थुनुवाहरूले ‘लामिछानेलाई बाहिर निकालेर हामीलाई किन राखिएको ?’ भन्दै सुरक्षाकर्मीहरूसँग झडपसमेत गरेका थिए। सो क्रममा लामिछाने कारागारका जेलर सत्यराज जोशीको हस्ताक्षर लिएर बाहिरिएको बताइएको छ। जोशीले यसअघि आयोगमा बयान दिँदै, लामिछाने बाहिरिसकेपछि कागजमा हस्ताक्षर गर्न आफू बाध्य पारिएको दाबी गरेका थिए।
लामिछाने र उनको पार्टीले भने आन्दोलनकारीले कारागारमा आगजनी गर्न खोजेपछि प्रशासनले सुरक्षाको कारण देखाउँदै आफन्तको जिम्मामा आफूलाई छाडेको दाबी गर्दै आएका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको जाँचबुझ आयोगले लामिछानेसँग कारागारबाट बाहिरिने क्रममा तयार गरिएको कागजात र घटनाको सम्पूर्ण प्रक्रियाबारे प्रश्न गरेका छन्।
लामिछाने घरमा बसेको खबर सार्वजनिक भएपछि विरोध बढेको थियो। त्यसपछि कारागार प्रशासनले सबै भागेकाहरूलाई फर्किन सूचना जारी गरेपछि लामिछाने स्वेच्छाले पुनः कारागार फर्किएका थिए।
लामिछाने सहकारी ठगी र सम्पत्ति शुद्धीकरण आरोपमा पुर्पक्षका लागि थुनामा छन्।







