राजनीतिमा केवल जोशले काम गर्दैन, गहिरो सोच र रणनीति आवश्यक छः डा. भट्टराई
Prime TV News १० महिना अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी अगुवाहरूसँग साक्षात्कारमा राजनीति र समाजको वास्तविकतासँग साक्षात्कार गर्नुपर्ने सन्देश दिएका छन्। उनले राजनीतिमा जोश र उत्साहको साथ साथै गहिरो सोच र दीर्घकालीन रणनीतिका बारेमा पनि ध्यान दिन सुझाब दिएका छन् ।
बिहीबार आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जेनजीलाई सुझाब दिदै भने, "राजनीतिमा केवल दृश्यहरू मात्र हुँदैनन्, अदृश्य पक्ष पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। जोसमा आइसकेर सबै कुरा गर्दिन्छौं जस्तो लाग्न सक्छ, तर वास्तविकता त्यस्तो हुँदैन। यदि तपाईंले राजनीतिमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने धेरै कुरामा ख्याल गर्नुपर्छ।"
डा. भट्टराईले अहिलेको संविधान बनाउदा आफूले भनेको "आधा गिलास भरी छ, आधा खाली छ" भन्ने भनाइको उदाहरण दिँदै अहिले पनि संविधानमा सुधारको आवश्यकता रहेको बताएका छन्। उनले भने, "संविधान जारी भएको समयदेखि नै मैले यसमा सुधारको आवश्यकता देखेको थिएँ। संघीयता र अन्य प्रावधानहरूलाई अझै सुधार गर्न आवश्यक छ। यसो नगरेर, संविधानलाई अपूर्ण रूपमा छोड्नु भनेको देशको भविष्यसँग खिलवाड गर्नु हो।"
नेता भट्टराईले संविधानको अपूर्णताका कारण नेपालमा सुशासन र तीव्र आर्थिक वृद्धि सम्भव नभएको उल्लेख गर्दै यसको सुधार र पूर्णता ल्याउने कार्यमा युवा नेतृत्वलाई समावेश गर्नु आवश्यक रहेको बताए ।







