सामूहिक नेतृत्वको आवश्यकता छ: पूर्वमन्त्री सुमना श्रेष्ठ

User Image Prime TV News १० महिना अगाडि
Image of सामूहिक नेतृत्वको आवश्यकता छ: पूर्वमन्त्री सुमना श्रेष्ठ

काठमाडौ । पूर्वमन्त्री सुमना श्रेष्ठले नेपालको वर्तमान राजनीतिक अवस्थालाई परिमार्जन गर्न सामूहिक नेतृत्वको आवश्यकता भएको बताइन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको पोस्टमा उनले नेपालको राजनीतिक समस्या केवल एकल नेतृत्वबाट समाधान हुन नसक्ने भन्दै सामूहिक नेतृत्वमा शक्ति र दृषटिकोनको विविधता ल्याउनुपर्ने आवश्यकता रहेको बताइन् । 

श्रेष्ठले पुराना दलहरूमा भएको नेतृत्वको असफलता र निराशाले जनताको विश्वास घटेको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, "पटक पटक नेतृत्वमा पुगेर देशलाई निराशा बाहेक केही दिन नसकेका नेताहरू अहिले चुनावी समीकरण मिलाउनका लागि एकजुट हुँदैछन्। यस्ता नेताहरूबाट कुनै ठूलो परिवर्तनको आशा गर्नु मूर्खता हुनेछ।"

उनले राजनीतिक निकासको लागि एकल नेतृत्वमा निर्भर नगरी सामूहिक नेतृत्वको अवधारणामा जानुपर्नेमा जोड दिइन् । नेपालको राजनीति अहिले गहिरो संकट र भ्रमको अवस्थामा रहेको भन्दै उनले एकल नेता भन्दा विचार र कर्ममा स्पष्ट भएका नेताहरूको समूहले जनताको मुद्दामा केन्द्रित हुने विश्वास व्यक्त गरिन्।

पूर्वमन्त्री श्रेष्ठले आफ्नो विचारमा मध्यमार्गी पथलाई अवलम्बन गर्नुपर्ने बताउँदै, "हामीलाई अहिले चाहिएको सरकार त्यो हो जसले बजारलाई ठिक्क नियमन गर्दै समृद्धि ल्याउन सक्छ।" उनले वैकल्पिक राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात गर्न सबैलाई आग्रह पनि गरेकी छन्।