एन्फा र ए डिभिजन क्लबबीचको सहमतिलाई लिएर खेलाडीहरू प्रदर्शनमा
Prime TV News १० महिना अगाडि 
काठमाडौ । अखिल नेपाल फुटबल संघ र ए डिभिजन क्लबहरू बीच यस वर्षको लिग सम्बन्धी सहमति विवादको बिषय बनेको छ। एन्फा र क्लबहरूको सहमतिअनुसार यस वर्ष ए डिभिजन लिगको आयोजना नगरी, केवल राष्ट्रिय लिग मात्र सञ्चालन गर्ने निर्णय गर्दा फुटबल खेलाडीहरू विरोधमा उत्रिएका छन्।
नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार दर्जनौं खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालयको गेट अगाडि धर्ना दिएका छन्। विरोधका क्रममा, खेलाडीहरूले आफूहरूले जितेका मेडलहरू एन्फाको गेटमा झुण्ड्याएर, आफ्नो असन्तुष्टि जनाएका छन् । उनीहरूले भने, "हामीले लिगको नियमित आयोजना गर्न नपाउँदा हाम्रो भविष्य अन्धकार हुँदै गएको छ, र यसले नेपाली फुटबलको विकासलाई रोक्ने खतरा उत्पन्न गराएको छ।"
एन्फा र १४ क्लबका प्रतिनिधिहरूले अर्को वर्षदेखि होम एन्ड अवे प्रणालीमा मात्र ए डिभिजन लिग सञ्चालन गर्ने सहमति गरेका थिए। यस वर्ष भने, एन्फा र क्लबहरू बीचको सहमति अनुसार, ए डिभिजन लिग स्थगित गर्दै राष्ट्रिय लिगको आयोजना गर्ने निर्णय भएको थियो ।







