मेलम्ची खानेपानी पथान्तरण स्थानीयद्वारा रोकियो

User Image Prime TV News १० महिना अगाडि
Image of मेलम्ची खानेपानी पथान्तरण स्थानीयद्वारा रोकियो

काठमाडौ । हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले रोकिदिएका छन्।

मेलम्ची बाढीपीडित सङ्घर्ष समितिले माग पूरा नभएसम्म पानी काठमाडौँ पठाउन नदिने अडानसहित आयोजनाको साइट कार्यालयमा ताला लगाएको छ।

समितिका उपाध्यक्ष नवराज गुरागाईंले सरकारले यसअघि गरेका सहमति कार्यान्वयन नगरेकाले आन्दोलन पुनः थालिएको बताए।

पीडितहरूले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण, बाढीअघिको कर्जा मिनाहा, मृत्यु भएका परिवारलाई क्षतिपूर्ति, नयाँ घर निर्माणका लागि अनुदान तथा आयआर्जन कार्यक्रम लागू गर्न माग गरेका छन्।

२०७८ असार १ गतेको बाढीपछि प्रभावितहरूले राहत तथा पुनर्वासका माग गर्दै निरन्तर दबाब दिँदै आएका छन्। २०८१ असोज २३ मा सरकार, स्थानीय तह र समितिबीच सम्झौता भए पनि कार्यान्वयन नहुँदा पुनः अवरोध गरिएको जनाइएको छ।

स्थानीयले माग पूरा नगरी मेलम्चीको पानी काठमाडौँ नपठाइने बताएका छन्।