महासचिव पोखरेलको प्रतिक्रिया: सुशासनमा अडिएको मान्छे निशाना बनाइयो
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २४ को जेनजी आन्दोलनका क्रममा घरमा गराइएको आगजनीबारे प्रतिक्रिया सार्वजनिक गर्दै निशानामा परेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत भावनात्मक टिप्पणी गर्दै उनले पारिवारिक र राजनीतिक यात्राका प्रसंगसमेत उल्लेख गरेका छन्। पोखरेलका अनुसार घटनापछि करिब दुई महिना साथीको घरमा बस्नुपर्यो र हाल फ्ल्याट लिएर डेराको जीवन पुनः सुरु गरेका छन्।
उनले मन्त्री र सांसद रहँदा पनि प्राडो पजेरो जस्ता सुविधा नलिएको, गम्भीर बिरामी पर्दा राज्यबाट उपचार खर्च नलिएको, लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा पुँजीगत खर्च शतप्रतिशत पुर्याएको र आफ्नो कार्यकालमा बेरुजु शून्य रहेको दाबी गरेका छन् ।
पोखरेलले लेखे, “आर्थिक अनुशासनमा सधैं अडिएँ। तर भ्रष्टाचार विरोधको नाममा परिवारलाई आक्रमण गरियो।”
उनका अनुसार दाङस्थित परिवारले शिक्षा तथा समाजसेवाका लागि ३०० विघाभन्दा बढी जग्गा दान गरेको थियो। अंशवण्डापछि अहिले आफ्नै नाममा ४ विघा मात्र रहेको उल्लेख गरेका छन्।







