भिटामिन 'ए' र जुकाको औषधि वितरण अभियान जारी

User Image Prime TV News १० महिना अगाडि
Image of भिटामिन 'ए' र जुकाको औषधि वितरण अभियान जारी

काठमाडौ । सरकारले देशभरका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि वितरण गर्ने अभियानलाई आज पनि जारी राखेको छ।

हिजोदेखि शुरु भएको यो अभियान आजसम्म सञ्चालन हुने छ। प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा दुई चरणमा सञ्चालन हुने यो अभियान यस वर्ष तिहार पर्वको कारण कात्तिक २ र ३ गते नभएर ७ र ८ नोभेम्बरमा सर्ने निर्णय गरिएको थियो । स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयका सचिवस्तरीय निर्णयअनुसार, यस वर्षको कार्यक्रम कात्तिक २ र ३ गते तिहार पर्वका कारण स्थगित गरिएको थियो।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार, यस अभियान अन्तर्गत देशभरका ७५३ स्थानीय तहमै पाँच वर्ष मुनिका लगभग २८ लाख बालबालिकालाई भिटामिन 'ए' र ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।

यो अभियानले बालबालिकामा भिटामिन 'ए' को कमी र जुकाको संक्रमणलाई नियन्त्रण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। स्वास्थ्य विशेषज्ञका अनुसार, भिटामिन 'ए' को कमीले बालबालिकामा दृष्टिहीनता, शारीरिक वृद्धि र प्रतिरक्षा प्रणालीमा समस्या उत्पन्न गर्न सक्छ भने, जुकाले श्वासप्रश्वास र पाचन समस्यामा वृद्धि गर्न सक्छ।