एनएमबि बैंकको वित्तीय विवरण: खुद नाफामा २०% गिरावट, मुनाफामा दबाब

User Image Prime TV News १० महिना अगाडि
Image of एनएमबि बैंकको वित्तीय विवरण: खुद नाफामा २०% गिरावट, मुनाफामा दबाब

काठमाडौ । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

बैंकले पहिलो त्रैमासिक अवधिमा ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको १ अर्ब १४ करोड रुपैयाँको तुलनामा २०.०४ प्रतिशतले घटेको हो। खुद नाफामा घटोत्तरीको मुख्य कारण इम्पेरमेन्ट चार्जको वृद्धि रहेको छ, जसले बैंकको संचालन मुनाफामा दबाब पुर्याएको छ।

समीक्षा अवधिमा, एनएमबि बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशतले वृद्धि भएको छ भने खुद फि तथा कमिसन आम्दानी १४.३७ प्रतिशतले बढेको छ। यससँगै, कुल सञ्चालन आम्दानी २३.४७ प्रतिशतले वृद्धि भएको छ । तर, यी वृद्धिको बाबजुद, सञ्चालन मुनाफा १४.३१ प्रतिशतले घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ७१ करोड ३९ लाख रुपैयाँ पुगेको कारण मुनाफामा गिरावट आएको हो ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। यद्यपि, प्रतिसेयर आम्दानी ५ रुपैयाँ घटेर १९ रुपैयाँ ९५ पैसा पुगेको छ। असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा र मूल्य-आम्दानी अनुपात ११.७८ गुणा रहेको छ । 

एनएमबि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्म बैंकले २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ र २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।