वाम प्रगतिशील नेताहरूको संयुक्त वक्तब्य: राष्ट्र, लोकतन्त्र र जनअधिकार जोखिममा
Prime TV News १० महिना अगाडि 
काठमाडौ । देशमा राष्ट्रियता, लोकतान्त्रिक प्रणाली र नागरिकका अधिकारहरू कमजोर हुँदै गएको दाबी गर्दै वाम प्रगतिशील नेताहरूले संयुक्त राजनीतिक पहलको घोषणा गरेका छन्।
शुक्रबार जारी संयुक्त प्रेस विज्ञप्तिमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले हालको राजनीतिक अवस्था चिन्ताजनक भएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा मुलुकको राजनीतिक नेतृत्वले पुरानै ढाँचामा सत्ता र संरचनालाई जोगाउन मात्रै ध्यान दिएको आरोप लगाइएको छ । नेताहरूका अनुसार पुरानो राजनीतिक सोचले राज्य व्यवस्थालाई थप अस्थिरता र अन्योलतर्फ धकेल्दै छ।
“पुरानो बाटोबाट नयाँ गन्तव्यमा पुग्न सकिन्न,” विज्ञप्तिमा भनिएको छ। उनीहरूले वर्तमान निराशा र गतिरोध चिर्न जनतामाथि आधारित प्रगतिशील र लोकतान्त्रिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
राष्ट्रमाथि परेको बहुआयामिक संकटका बीच सम्बद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा राष्ट्रभक्त राजनीतिक शक्तिहरूबीच व्यापक मोर्चा निर्माण गर्न नेताहरूले आह्वान गरेका छन्।
तीन नेताहरूले सार्थक संवाद र सहकार्यमार्फत ऐतिहासिक राजनीतिक पहल अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।







