जेनजी पुस्तालाई आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउन प्रधानमन्त्री कार्कीको अपिल
Prime TV News १० महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्तालाई आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेकी छन्। उनले युवाको भूमिकालाई निर्णायक ठहर गर्दै मतदाता परिचयपत्र बनाउन र मतदानमा भाग लिनु लोकतान्त्रिक दायित्व भएको उल्लेख गरिन्।
प्रधानमन्त्रीले दिएको सन्देशमा भनिएको छ, “आधुनिक नेपाल निर्माण गर्ने सपना सबै नेपालीको हो। यो सपना साकार पार्न सबैभन्दा पहिला मतदाता परिचयपत्र बनाउनुपर्छ।” उनले नागरिकको विवेक र मताधिकार लोकतन्त्रका आधारस्तम्भ भएको समेत बताइन् ।
प्रधानमन्त्री कार्कीले सही प्रतिनिधि चयन गर्न युवालाई सचेत रहन आग्रह गरिन्। “सही उपयोग भएको मतले मात्र राष्ट्रलाई सही दिशा दिन सक्छ,” प्रधानमन्त्रीले भनिन्। साथै उनले योग्य युवालाई स्वयं नेतृत्वमा आउन पनि प्रेरित गरिन्।
विद्यमान समस्या र अव्यवस्थासँग लड्न प्रत्येक योग्य नागरिकले आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने उनको भनाइ छ। “नजिकको निर्वाचन कार्यालय पुगेर आजै मतदाता परिचयपत्र बनाऔं,” प्रधानमन्त्री कार्कीको सन्देशमा भनिएको छ।







