कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन भएको छ। उपचारका क्रममा गएराति २:५८ बजे काठमाडौँ मेडिकल कलेजमा उनको मृत्यु भएको हो ।
आलमलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
गत जेठमा नक्खु कारागारबाट रिहा भएसँगै ब्रेन स्ट्रोक आएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो। उनको शव अन्तिम संस्कारका लागि रौतहटको राजपुरतर्फ लगिएको छ ।
२०७२ सालतिर रौतहटमा भएको बम विस्फोटपछि घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको अभियोगमा आलम पक्राउ परेका थिए। जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।
तर उच्च अदालतले प्रमाण अपर्याप्त रहेको भन्दै उनीसहित सबै प्रतिवादीलाई सफाइ दिएको थियो।उक्त मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्चले अझै अन्तिम फैसला सुनाउन बाँकी छ।







