हङकङ सिक्सेसमा नेपालको पहिलो जीत, भारत ठूलो अन्तरले पराजित
Prime TV News १० महिना अगाडि 
काठमाडौ । हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई ९२ रनले पराजित गर्दै पहिलो जीत दर्ता गरेको छ।
शनिबार बिहान भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन हारपछि प्रतियोगितामा विजयी सुरुवात गरेको हो। पहिलो ब्याटिङ गरेको नेपालले ६ ओभरमा विनाविकेट १३७ रनको योगफल बनायो।
नेपाली ओपनर रासिद खानले १७ बलमा अर्धशतक प्रहार गरे। उनले ४ चौका र ६ छक्का प्रहार गर्दै अविश्वसनीय सुरुवात दिएपछि रिटायर्ड हर्ट भए। सन्दीप जोरा १२ बलमा ४७ रन अविजित रहे भने लोकेश बमले ७ बलमा ३१ रन जोडे।
लक्ष्य पछ्याउन मैदान उत्रिएको भारत ३ ओभरमै ४५ रनमा अलआउट भयो। नेपालका रासिद खानले ३ विकेट लिँदै ब्याटिङ र बलिङ दुवैमा प्रभाव जमाए। बसिर अहमदले २ र रुपेश सिंहले १ विकेट हात पारे।
तर त्यही दिन नेपालले दोस्रो खेलमा श्रीलंकासँग ३ विकेट र तेस्रो खेलमा दक्षिण अफ्रिकासँग ४ विकेटले पराजय भोग्यो। यसअघि नेपाल अफगानिस्तानसँग पनि हारेको थियो।
नेपालले अब आइतबार संयुक्त अरब एमिरेट्स (यूएई)सँग खेल्नेछ। प्रतियोगितामा समूह चरणको अन्तिम खेललाई नेपालका लागि महत्वपूर्ण मानिएको छ।







