सुशासन स्थापना सरकारको पहिलो प्राथमकिता: प्रधानमन्त्री कार्की
Prime TV News १० महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार र राजनीतिक संरक्षणमा चल्ने कमीशन सञ्जाललाई “देश नष्ट गर्ने क्यान्सर” भन्दै तत्काल रोक्न सरकार कडाइसहित लाग्ने घोषणा गरेकी छन्।
राष्ट्रिय आर्थिक बहसमा बोल्दै उनले सुशासन स्थापनालाई सरकारको पहिलो प्राथमकिता बताइन्।उनले जेनजी आन्दोलनले दिएको जनम्यान्डेट कुनै साधारण राजनीतिक घटना होइन, परिवर्तनको कडा सन्देश भएको बताइन् ।
“अब राज्यले चुप लागेर हेर्ने समय सकियो,” प्रधानमन्त्री कार्कीले भनिन्, “सिस्टममाथि कब्जा जमाउने र निजी क्षेत्रलाई धम्की दिने प्रवृत्तिहरू सह्य हुँदैनन्।”
गत भदौमा भएको आन्दोलनका क्रममा केही समूहले उद्योग व्यवसायलाई गरेको क्षतिले सरकारलाई “गम्भीर चेतावनी” दिएको भन्दै उनले जिम्मेवार उद्योगीहरूको मनोबल उठाउने प्रतिबद्धता व्यक्त गरिन्। “घाइते युवाहरूको उपचार जत्तिकै महत्त्वपूर्ण काम व्यवसायीको भरोसा फर्काउनु हो,” प्रधानमन्त्रीले भनिन्।
सुरक्षा, कानुनी कठोरता र नीति स्पष्टताको वाचा गर्दै उनले भ्रष्टाचार विरुद्ध “सम्पूर्ण शक्ति प्रयोग” गर्ने चेतावनी दिइन्। “उद्योगीहरूले देशका हजारौँ परिवारको रोजगारी थामेका हुन्छन्। उनीहरूलाई तर्साएर अर्थतन्त्र उक्लिँदैन,” कार्कीको भनाइ थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे पनि प्रधानमन्त्रीले टिप्पणी गरिन्। उनले स्वच्छ र सुरक्षित मतदान गराएर राजनीतिक स्थिरता र आर्थिक आशा जगाउने वातावरण निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताइन्।
“देश अब पुरानै अभ्यासमा फर्कँदैन,” प्रधानमन्त्री कार्कीले जोड दिँदै भनिन्, “हामीले विगतका गल्तीका खिया पखाल्दै नयाँ दिशामा अघि बढ्नै छ।”
सरकारले निकट भविष्यमा निजी क्षेत्रमार्फत रोजगार विस्तार, लगानी संरक्षण र सुशासन प्रवर्द्धनका विस्तृत कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको समेत प्रधानमन्त्री कार्कीको भनाइ थियो ।







