नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्ने
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नयाँ गठित नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने भएको छ। सो पार्टीले निर्वाचन केन्द्रित कार्यक्रमहरूलाई रणनीतिक रूपमा अघि बढाउने निर्णय समेत गरेको छ ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित सबै तहमा पार्टी संरचनासँग समन्वय गर्दै संगठन विस्तार र जनपरिचालनमा जुट्न निर्देशन दिइएको जानकारी दिए।
उनका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित अभियानलाई प्रभावकारी बनाउनु बैठकको मुख्य उद्देश्य रहेको छ ।कात्तिक १९ गते सम्पन्न एकता राष्ट्रिय सम्मेलनमार्फत पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० वाम शक्तिहरू एकीकृत भई नेपाली कम्युनिष्ट पार्टी गठन भएको थियो।
एकता प्रक्रियालाई संस्थागत गर्दै जनतामा नयाँ सन्देशसहित प्रस्तुत हुन पार्टीले प्रदेशस्तरीय सभा आयोजना गर्ने निर्णय गरेको हो। पार्टी नेतृत्वले एकतापछि पहिलो चरणमा संगठन सुदृढीकरण, विचार स्पष्टीकरण र आगामी राजनीतिक कार्यक्रमको तयारीलाई प्राथमिकता दिने बताएको छ।







