नेकपा एमालेको जनपरिचालन कार्यक्रम तयारी तीव्र
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले आयोजना गर्ने आगामी पालिकास्तरीय जनपरिचालन कार्यक्रमलाई भव्य बनाउनका लागि महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन जारी गरेका छन्।
महासचिव पोखरेलले पार्टीका कार्यकर्ताहरूलाई जनपरिचालनमा सहभागी हुने सङ्ख्याको आधारमा झन्डा, व्यानर र प्लेकार्ड तयार गर्न निर्देशन दिएका छन्। कार्यकर्ताहरूलाई घना बस्ती भएका क्षेत्रहरूमा जनपरिचालन सञ्चालन गर्न पनि पोखरेलले आग्रह गरेका छन् ।
साथै जनपरिचालनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा आयोजना गर्ने निर्देशन पनि महासचिव पोखरेलले दिएका छन्। साथै, जनपरिचालनको दौरान कार्यक्रमका फोटो र भिडियोहरू सामाजिक सञ्जालमा सेयर गर्ने र मिडियामा पठाउन समेत निर्देशन पनि दिइएको छ।
यसअघि, गत असोज २९ देखि ३१ गतेसम्मको एमाले केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्रविरुद्ध देशभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । जसको पालन गर्दै कात्तिक २२ गतेसम्म सबै वडाहरूमा कार्यक्रम सम्पन्न गर्ने लक्ष्य एमालेले राखेको छ ।







