दुर्गा प्रसाईको बालेनविरुद्ध संघर्ष: सुकुम्वासीहरूको अधिकारको लागि अभियान सुरु

User Image Prime TV News १० महिना अगाडि
Image of दुर्गा प्रसाईको बालेनविरुद्ध संघर्ष: सुकुम्वासीहरूको अधिकारको लागि अभियान सुरु

काठमाडौ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध सार्वजनिक रूपमै अभियान सुरु गर्ने घोषणा गरेका छन्।

आइतबार बिहान मनोहरा सुकुम्वासी बस्तीमा आयोजित एक भेला कार्यक्रममा प्रसाईंले आगामी मंसिर ७ गतेदेखि आफ्नो आन्दोलनको प्रारम्भ गर्ने र यसमा स्थानीय नागरिकहरूलाई समर्थन जनाउन आह्वान गरे।

प्रसाईंले सुकुम्वासी बस्तीमा रहेका स्थानीयहरूलाई आफ्नो अभियानमा सहभागी हुन आग्रह गर्दै भने, "आफूले भोट नमाग्ने, बरु तपाईंहरूको पक्की घर दिलाउन सहयोग गर्नेछु। सबै दल र बालेनलाई ठेगान लगाउने हो।" उनले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड रुपैयाँ लिएको आरोप समेत लगाए।

प्रसाईंले सुकुम्वासी बस्तीलाई राजनीतिक दलहरूले केवल 'भोट बैंक'को रूपमा प्रयोग गरेको र स्थानीयको हकको रक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सुकुम्वासीहरूको स्थायी आवासको विषयमा मद्दत गर्ने आश्वासन समेत दिएका छन्।

यसै बीच, काठमाडौं महानगरपालिकाले सुकुम्वासी बस्तीलाई खाली गराउनको लागि दिएको एक हप्ते 'अल्टिमेटम' आज समाप्त हुँदैछ। महानगरपालिकाले उक्त बस्ती खाली गराउने योजना बनाएको छ । जसको विरोधमा प्रसाईंले आफ्नो अभियानलाई तीव्रता दिनका लागि कदम चालेका छन् ।