मेलम्ची खानेपानी आपूर्ति अझै बन्द गर्ने, संघर्ष समितिको चेतावनी

User Image Prime TV News १० महिना अगाडि
Image of मेलम्ची खानेपानी आपूर्ति अझै बन्द गर्ने, संघर्ष समितिको चेतावनी

काठमाडौ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले आगामी दिनहरूमा राजधानी काठमाडौँतर्फ पानीको आपूर्ति अझै बढि बन्द गर्न सक्ने चेतावनी दिएको छ।

समितिका अनुसार स्थानीय बासिन्दाहरूको हकका लागि बारम्बार वार्ता र सम्झौतामा उल्लेखित वचनहरू पूरा नगरेपछि यस्तो कदम चाल्ने निर्णय गरिएको जनाएको छ । समितिका सचिव छिरिङग्याल्बोले आइतबार जारी गरेको वक्तव्यमार्फत भने, "हामी काठमाडौँका नागरिकलाई शुद्ध पानी आपूर्ति गर्न सधैँ तयार छौं, तर हाम्रो हक नपुरा नगरिएको अवस्थामा, अब पानी बन्द गर्नुपरेको छ।"

समितिको मुख्य माग भनेको, काठमाडौँलाई दैनिक २२ करोड लिटर पानी आपूर्ति गर्ने मुलुकका बाढीपीडित क्षेत्रका स्थानीय बासिन्दाहरूको हक पनि सुरक्षित गरिनु भएको समितिले जनाएको छ । समितिले २०७७ सालदेखि काठमाडौँलाई मेलम्ची नदीको पानी उपलब्ध गराउँदै आएको भए पनि, त्यहाँका बासिन्दालाई कुनै प्रतिफल प्राप्त नभएको उनीहरूको दाबी छ।

"हामीलाई एक रुपैयाँ पनि नदिइएको छ, जबकि हाम्रो पानीले काठमाडौँको जीवनधारा चलिरहेको छ," छिरिङग्याल्बोले भने। समितिले २०८१ असोज २१ मा तत्कालीन खानेपानी मन्त्री प्रदिप यादव र सचिव प्रमिला देवी बज्राचार्यसँग भएको सम्झौतामा तीन महिनाभित्र कार्यान्वयन गर्ने आश्वासन प्राप्त गरेको थियो।

तर, मन्त्री र सचिवसँगको सहमति पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। "यदि काठमाडौँका नागरिकलाई निःशुल्क पानी वितरण गर्न सकिन्छ भने, हामीलाई पनि त्यसको केही हिस्सा दिइनुपर्छ," भन्ने समितिको भनाई छ।

समितिले यस संघर्षलाई कुनै न कुनै रूपले समाधान गर्न सरकार र प्राधिकरणसँग वार्ता प्रक्रिया पुनः सुरु गर्न आग्रह गरेको छ। "हामी संवाद र वार्तामा विश्वास गर्छौं, तर सरकार र प्राधिकरणले कुनै औपचारिक पहल नगरेको छ," समितिले भनेको छ।