शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्नता भएृ कारबाही गर्ने सरकारले निर्णय
Prime TV News १० महिना अगाडि 
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र अन्य शैक्षिक कर्मचारीहरूले राजनीतिक दलसँग संलग्न हुने अवस्था पाएमा कडा कारबाही हुने चेतावनी दिएका छन्।
मन्त्री पुनले शिक्षा क्षेत्रमा व्यावसायिकता र निष्पक्षता कायम राख्नका लागि यस्तो कदम उठाइएको बताएका छन् । उनले शिक्षकहरूको मुख्य दायित्व शिक्षण र शैक्षिक वातावरणमा शान्ति कायम राख्नु भएको वताएका छन् ।
कुनै पनि प्रकारको राजनीतिक गतिविधिमा संलग्न हुँदा त्यो उद्देश्यमा विघ्न आउन सक्ने मन्त्री पुनले बताएका छन् । उनले भने, "शिक्षक, प्राध्यापक वा कर्मचारीहरूलाई आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व र आचरणसँग मेल खाएर काम गर्नु पर्छ। कुनै पनि राजनीतिक दलसँगको संलग्नता शिक्षा क्षेत्रको शान्ति र संवेदनशीलता विरुद्ध हुने हुँदा यस्तो गतिविधिमा संलग्न हुने अवस्थामा प्रचलित कानूनी प्रावधानअनुसार कडा कारबाही गरिने छ।"
मन्त्री पुनका अनुसार, शिक्षा सम्बन्धी कुनै पनि पेशागत ऐनले शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुन अनुमति दिएको छैन। "यो पेशामा कार्यरत व्यक्तिहरूले आफ्नो पेशागत दायित्व पूरा गर्न मात्र ध्यान केन्द्रित गर्नु पर्छ। राजनीतिक गतिविधिमा संलग्नता भएमा शिक्षकको पदबाट वर्खास्तीको प्रक्रिया पनि सुरु गर्न सकिन्छ," उनले स्पष्ट पारे।
मन्त्री पुनले शिक्षा क्षेत्रका विभिन्न संघ-संगठनहरूको पुनर्गठन गर्न पनि आह्वान गरेका छन्। "संघ-संगठनहरूलाई अब गैर-राजनीतिक, स्वतन्त्र र व्यवसायिक बनाउने लक्ष्य राखिएको छ। यसका लागि कानूनी व्यवस्थासहितको पुनर्गठन प्रक्रिया सुरु गर्न तयारी भइसकेको छ," उनले भने।







