प्रधानमन्त्री ओलीको चेतावनी : ‘म हेपिन सक्छु, तर देशलाई होइन’


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानका विषयमा स्पष्ट अडान लिँदै देशमाथि कुनै पनि प्रकारको हेपाहा व्यवहार सहन नसक्ने बताएका छन् ।
दोस्रो विधान महाधिवेशनको समापन समारोहमा कार्यकर्ताहरूसँग सम्बोधन गर्दै ओलीले आफू व्यक्तिगत रूपमा जतिसुकै आलोचित वा अपमानित भए पनि देशको गरिमा माथि आँच आउन दिने पक्षमा नरहेको दोहोर्याए । म जतिसुकै अपमान सहन सक्छु, तर देशको अपमान स्वीकार्दिन, उनले भने।
सामाजिक सञ्जालप्रति सरकारको दृष्टिकोण
ओलीले पछिल्लो समय सामाजिक सञ्जालबारे उठेका बहसहरूलाई पनि सम्बोधन गरे। उनले अनुसार सरकार वाक स्वतन्त्रताको पक्षधर हो, तर सामाजिक सञ्जाललाई नियम, कानुन र पारदर्शिताको दायरामा ल्याउनु आवश्यक रहेको वताए । “हामीले एक वर्षअघिदेखि नै सामाजिक सञ्जाल दर्ता गराएर कर प्रणालीमा ल्याउनुपर्ने कुरा गर्दै आएका छौं। तर केही अटेरी प्रवृत्तिहरूले यसलाई बेवास्ता गर्दै आएका छन्,” उनले भने।
सामाजिक सञ्जालमा नियन्त्रणको प्रयासलाई वाक स्वतन्त्रता कुण्ठित गरिएको भन्ने आरोपमाथि टिप्पणी गर्दै ओलीले यस्ता दाबीहरू भ्रमपूर्ण रहेको बताए।
जेनजी पुस्ताप्रति विश्वास
हालको पुस्ता विशेषगरी ‘जेनजी’ भनिने युवापुस्ताबारे पनि ओली सकारात्मक देखिए । “यो पुस्ता देशलाई बुझ्ने, माया गर्ने, र बेथिति तथा हेपाहा प्रवृत्तिको विरोधी हो,” ओलीले बताए। यद्यपि कतिपयले युवापुस्तालाई विद्रोहमा उक्साउने प्रयास गरिरहेका छन् भन्ने संकेत गर्दै ओलीले युवाहरू राष्ट्र हितको पक्षमा उभिनेमा विश्वास व्यक्त गरे । यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रियता र स्वाधीनताको मामिलामा सबै दलहरूलाई क्षणिक स्वार्थभन्दा माथि उठ्न र एकताबद्ध हुन आग्रह गरे।