रामकुमारी झाँक्री र किसानसहितका नेता चार वर्षपछि एमालेमा फर्किए

User Image Prime TV News १० महिना अगाडि
Image of रामकुमारी झाँक्री र किसानसहितका नेता चार वर्षपछि एमालेमा फर्किए

काठमाडौ । चार वर्षअघि नेकपा एमाले छोडी नेकपा एकीकृत समाजवादीमा गएका नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ (किसान) पुनः एमालेमा फर्किएका छन्। उनीहरूले सोमबार काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष पार्टी प्रवेश गरेका हुन्।

२०७८ सालमा एमाले विभाजन हुँदा झाँक्री र श्रेष्ठले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका थिए। तर हालै एकीकृत समाजवादी, माओवादी केन्द्रलगायतका दलबीच भएको एकीकरणपछि उनीहरू पुनः पुरानो घर फर्किएका हुन्।

कार्यक्रममा अध्यक्ष ओलीले झाँक्री र श्रेष्ठलाई एमालेको चुनाव चिह्न ‘सूर्य’ प्रदान गर्दै पार्टीमा स्वागत गरे। प्रतीकात्मक रूपमा झाँक्री र श्रेष्ठले भने आफूहरू रहेको दलको ‘कलम’ चिह्न ओलीलाई हस्तान्तरण गरे। त्यस अवसरमा ओलीले पार्टीमा फर्किएकाहरूलाई धन्यवाद दिंदै भने, “एमाले सबै कम्युनिष्टहरूको साझा घर हो। घर फर्कने यो अभियान देशभर जारी रहनेछ।”

कार्यक्रममा झाँक्री र श्रेष्ठसँगै गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटा लगायतका नेताहरू पनि एमालेमा पुनः प्रवेश गरेका थिए ।