अमेरिकामा सिनेटले पारित गर्यो बजेट विधेयक, सरकारको काम बन्द अन्त्य नजिक
Prime TV News १० महिना अगाडि 
काठमाडौ । अमेरिकाको सिनेटले सोमबार राति ६०–४० मतले नयाँ बजेट विधेयक पारित गरेको छ । जसले ४१ दिन लामो सरकारी काम बन्द (शटडाउन) अन्त्य गर्न सहयोग पुर्याउएको छ। लगभग सबै रिपब्लिकन सिनेटरहरू र आठ डेमोक्र्याटले पार्टी लाइन तोड्दै विधेयकको समर्थन गरेका थिए।
यो विधेयकले संघीय सरकारलाई जनवरी ३० सम्म आवश्यक बजेट उपलब्ध गराउने व्यवस्था गरेको छ। यसमा कृषि विभाग, सैन्य निर्माण, विधायिका एजेन्सीहरू, संघीय कर्मचारीहरूको तलब भुक्तानी र अत्यावश्यक खाद्य सुरक्षा कार्यक्रमको बजेट समावेश छ।
अर्को चरणमा विधेयक प्रतिनिधि सभामा जान्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा हस्ताक्षर गर्न तयार रहेको संकेत दिएका छन्। प्रतिनिधि सभामा बहुमत सानो भएकाले प्रत्येक मत महत्वपूर्ण हुनेछ । रिपब्लिकनसँग मिलेर विधेयक पारित गर्ने सदस्यहरुको डेमोक्र्याटले आलोचना गरेका छन् ।
सिनेटमा बहुमत नेता जोन थुनले स्वास्थ्य सेवा सब्सिडी सम्बन्धी विधेयक छिट्टै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। तर प्रतिनिधि सभामा सभामुख माइक जोनसनले उक्त विधेयकलाई तत्काल मतदानका लागि प्रस्तुत नगर्ने बताएका छन्।







