जेनजी मुभमेन्ट नेपालद्वारा ऊर्जामन्त्री घिसिङको बर्खास्तको माग

User Image Prime TV News १० महिना अगाडि
Image of जेनजी मुभमेन्ट नेपालद्वारा ऊर्जामन्त्री घिसिङको बर्खास्तको माग

काठमाडौ । जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

मुभमेन्टले घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको संलग्नतामा भारतको कम्पनीसँग भएको विद्युत् खरिद सम्झौतालाई ‘राष्ट्रघाती’ र गैरकानुनी ठहर गरेको जनाएको छ।

जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा, सम्झौताबाट ४३ करोड रुपैयाँबराबरको नोक्सान भएको छ र यसमा विद्युत् नियमन आयोगको स्वीकृति समेत नभएको तथ्य प्रष्ट भइसकेको भनिएको छ।

मुभमेन्टले यसलाई भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्रीको रूपमा जनाउँदै, तत्काल कारबाहीको माग गरेको छ। मुभमेन्टले कुलमान घिसिङलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न, मनोज सिलवाललाई निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत छानबिन सुरु गर्न, विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सबै विद्युत् सम्झौताहरू सार्वजनिक गर्न , राष्ट्रघाती सम्झौतामा संलग्नलाई जेल हाल्ने र राज्य सम्पत्ति फिर्ता गर्ने कानुनी प्रक्रिया सुरु गर्न माग गरेको छ।

जेनजी मुभमेन्टले यस कदमलाई देशको आर्थिक स्वाधीनता र राष्ट्रिय हितको संरक्षणका लागि अनिवार्य भनेको छ।