पश्चिम नवलपरासीमा जापानीज इन्सेफ्लाइटिसले तीनको ज्यान गयो, नौ जनामा डेङ्गी पुष्टि

User Image Prime TV News एक बर्ष अगाडि
Image of पश्चिम नवलपरासीमा जापानीज इन्सेफ्लाइटिसले तीनको ज्यान गयो, नौ जनामा डेङ्गी पुष्टि

काठमाडौ । पश्चिम नवलपरासीमा जापानीज इन्सेफ्लाइटिस र डेङ्गीको सङ्क्रमण फैलिँदै गएको छ। पछिल्लो डेढ महिनाको अवधिमा जापानीज इन्सेफ्लाइटिसका कारण तीन जनाको मृत्यु भएको छ भने नौ जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, पश्चिम नवलपरासीले जनाएको छ।

मृत्यु हुनेमा बर्दघाट नगरपालिका १२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका–१ का ५० वर्षीय पुरुष छन्। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भेषराज शर्माका अनुसार, ती सबै व्यक्तिहरूले जापानीज इन्सेफ्लाइटिस विरुद्धको खोप नलगाएका थिए।

शर्माका अनुसार, लामखुट्टेको टोकाइबाट सर्ने जापानीज इन्सेफ्लाइटिस रोगले विशेषगरी मस्तिष्कमा असर पुर्‍याउने गर्दछ। रोग लागेपछि मस्तिष्क सुन्निने, रिङटा लाग्ने, बेहोस हुने, पक्षाघात हुने र अन्ततः मृत्यु हुने सम्भावना रहन्छ।

यता, एडिस एजिप्टी प्रजातिको लामखुट्टेबाट सर्ने डेङ्गी रोग पनि जिल्लामा फैलिँदै गएको छ। हालसम्म नौ जनामा संक्रमण पुष्टि भइसकेको छ। लामखुट्टेको टोकाइबाट फैलिने यो रोग उच्च ज्वरो, टाउको दुखाइ, आँखाको पछाडि दुख्ने, मांसपेशी तथा स्नायु दुखाइ, थकान, र खाना नखाने जस्ता लक्षण देखापर्ने डा। नुरुल होदाले जानकारी दिए।

डेङ्गीको समयमा उपचार नपाएमा बिरामीको मृत्यु हुने खतरा उच्च रहने चिकित्सकहरूको भनाइ छ। स्वास्थ्य कार्यालयले लामखुट्टेको प्रकोप नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गरेर सरसफाइ अभियान र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।