मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पहिलो निर्णय : मधेस आन्दोलनका सहिदलाई “मधेस रत्न सम्मान”
Prime TV News १० महिना अगाडि 
काठमाडौ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेलगत्तै मधेस आन्दोलनका सहिदहरूलाई “मधेस रत्न सम्मान” प्रदान गर्ने निर्णय गरेका छन्।
मुख्यमन्त्री यादवले मंगलबार प्रदेश सरकारको कार्यालयमा कार्यभार सम्हाल्दै उक्त निर्णय घोषणा गरेका हुन्। उनले मधेस आन्दोलनका सहिदहरूले मुलुकमा संघीयता ल्याउन गरेको योगदान अतुलनीय भएको भन्दै अब उनीहरूलाई राज्यको उच्च सम्मानका साथ सम्झिनु पर्ने बताए।
“मधेसका सहिदहरूले देशमा संघीयता ल्याउने मार्ग प्रशस्त गरेका छन्। तर, उनीहरूको बलिदानलाई अहिले पनि पर्याप्त सम्मान गरिएको छैन,” मुख्यमन्त्री यादवले भने, “अब प्रदेश सरकारले ‘मधेस रत्न सम्मान’ मार्फत ती सहिदहरूको गौरवलाई स्थायी बनाउनेछ।”
मुख्यमन्त्री यादवले सहिद परिवारहरूलाई विगतमा आर्थिक सहयोग दिइए पनि उनीहरूलाई आधिकारिक सम्मान नदिइएको उल्लेख गर्दै यस निर्णयले मधेसको पहिचान र आत्मसम्मान थप उचो बनाउने विश्वास व्यक्त गरे।
त्यसैगरी, उनले प्रदेशमा शान्ति, सुव्यवस्था र सुरक्षाको स्थिति सुदृढ गर्न सुरक्षा निकायका प्रमुखहरूलाई आवश्यक निर्देशनसमेत दिएका छन्।







