कुलमान घिसिङको राजनीतिक यात्रा: उज्यालो नेपाल पार्टी सक्रिय (केन्द्रीय सदस्यको सुची सहित)

User Image Prime TV News १० महिना अगाडि
Image of कुलमान घिसिङको राजनीतिक यात्रा: उज्यालो नेपाल पार्टी सक्रिय (केन्द्रीय सदस्यको सुची सहित)

काठमाडौ । ऊर्जा क्षेत्रमा सुधारकका रूपमा पहिचान बनाएका कुलमान घिसिङ अब औपचारिक रूपमा राजनीतिक अभियानमा उत्रिएका छन्।

लामो समयदेखि राजनीतिक संगत रहँदै आएको बताइएका घिसिङले उज्यालो नेपाल पार्टीलाई सक्रिय बनाउँदै नयाँ राजनीतिक यात्रा थालेका हुन्।

उक्त पार्टीलाई दर्ता अद्यावधिक गर्दै पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाइएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार घिसिङकै प्रस्तावमा उपाध्याय संयोजक बनेका हुन्।

५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको पार्टीमा पूर्व संयोजक ज्ञानबहादुर तामाङसहित विभिन्न क्षेत्रका व्यक्तित्व समेटिएका छन्।

समितिमा पहिचानवादी अभियन्ता डा. महेन्द्र लावती, इलाम–२ का उपनिर्वाचन उम्मेदवार डकेन्द्र थेगिम, ताप्लेजुङकी सरस्वती लिम्बू लगायतको समावेश छ।

पार्टीमा सुदूरपश्चिमका स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी पनि जोडिएका छन्। धरानका मेयर हर्क साङपाङसँगै इलाममा सक्रियता बढाएका डकेन्द्र थेगिम भने साङपाङबाट अलग्गिएर अब घिसिङको नेतृत्वमा लागेका छन्। हर्क साङपाङले केही समयअघि ‘श्रम संस्कृति पार्टी’ गठन गरेका थिए।

पुराना दलहरूको आलोचना गर्दै आएकी अभिनेत्री रीमा विश्वकर्मा पनि उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकी छन्। त्यस्तै जेन–जी समूहबाट मन्त्री सिफारिस भएकी तर विवादका कारण नियुक्ति नपाएकी हुम्लाको लिमी भ्यालीकी टासी ल्हाजोम पनि पार्टीमा समावेश भएकी छन्।

घिसिङले सरकारी क्षेत्रको व्यवस्थापनमा देखाएको क्षमता अहिले राजनीतिक परिवेशमा कसरी रूपान्तरण हुन्छ भन्ने विषयमा जनचासो बढेको छ।