२ लाखभन्दा बढी नयाँ मतदाता दर्ता, सेवा समय १२ घण्टासम्म बढाइयो

User Image Prime TV News १० महिना अगाडि
Image of २ लाखभन्दा बढी नयाँ मतदाता दर्ता, सेवा समय १२ घण्टासम्म बढाइयो

काठमाडौ । निर्वाचन आयोगले देशभर २ लाख ९ हजार ५५२ जना नयाँ मतदाताले नाम दर्ता गराएको जनाएको छ।

यो तथ्याङ्क गत असोज १० गतेदेखि मंगलबारसम्मको हो। आयोगका अनुसार मंगलबार मात्रै २३ हजार ६ सय ३८ जनाले नाम दर्ता गराएका छन्। मंगलबार दर्ता हुनेमध्ये १३ हजार ६६ जना पुरुष, १० हजार ५६७ जना महिला र ५ जना अन्य छन्।

आयोगले हाल देखिएको सेवाग्राहीको अत्यधिक चापका कारण दर्ता सेवा समय विस्तार गर्ने निर्णय गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा अबदेखि दुई सिफ्टमा सेवा प्रवाह गरिनेछ।

“दैनिक १२ घण्टा प्रत्येक सिफ्ट ६–६ घण्टाका दरले सेवा सञ्चालन गरिने व्यवस्था गरिएको छ,” उनले बताए। सेवा सहज बनाउन काठमाडौं उपत्यकाका तीन जिल्लाका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएका छन्।

अन्य जिल्लाहरूमा भने सेवाग्राहीको चापका आधारमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले अतिरिक्त जनशक्ति खटाउने व्यवस्था गर्न गृह मन्त्रालयमा पत्राचार गरिएको आयोगले जनाएको छ। आयोगले मतदाता नाम दर्ता कार्यक्रमलाई निरन्तर रूपमा अघि बढाउँदै आगामी निर्वाचनका लागि सबै योग्य नागरिकलाई मतदाता सूचीमा समावेश हुन आग्रह गरेको छ।