तोडफोडपछि हयात रिजेन्सी बन्द

User Image Prime TV News १ हप्ता अगाडि
Image of तोडफोडपछि हयात रिजेन्सी बन्द

काठमाडौ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगलागीपछि राजधानीको पाँचतारे हयात रिजेन्सी होटल बन्द गरिएको छ। मर्मतसम्भारका कारण भन्दै होटलले हाल कार्यरत १ सय ३३ जना मजदुरलाई बिदा दिने निर्णय गरेको छ।

होटलका महाप्रबन्धक आशीष कुमारले मानव संसाधन विभागलाई पठाएको पत्रमा होटल अहिले पूर्ण रूपमा बन्द रहेको उल्लेख गरेका छन्। उनका अनुसार, मर्मतसम्भारका लागि ऋण खोज्नु परेको र होटलको आर्थिक अवस्था कमजोर भएकाले मंसिर २२ गतेदेखि लागू हुने गरी सबै श्रमिकलाई बिदा दिन निर्देशन दिइएको हो।

कुमारले भनेका छन्, “भदौ २३ र २४ गतेको आन्दोलनक्रममा आपराधिक समूहले होटलमा प्रवेश गरी तोडफोड, लुटपाट र आगलागी गरेका थिए। आगलागीका कारण होटल क्षतिग्रस्त भई सञ्चालनयोग्य छैन।” उक्त घटनामा होटलमा रहेका एक विदेशी पाहुनाले ज्यान गुमाएका थिए।

आगलागीका कारण कोठाबाट बाहिर निस्कन नसकेपछि उनले चौथो तलाबाट हामफाल्दा घाइते भई उपचारका क्रममा मृत्यु भएको थियो। अन्य विदेशी पाहुनाहरूका सामान समेत लुटपाट र क्षतिग्रस्त भएका थिए।

कुमारका अनुसार, घटनाले होटलको अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पारेको छ। “कोभिड–१९ का कारण लामो समय बन्द रहँदा ठूलो आर्थिक क्षति भएको थियो। भदौ २४ गतेको घटनाबाट होटलले पुनः ठूलो आर्थिक संकट व्यहोर्नु परेको छ,” उनले भनेका छन्।

होटलले श्रम ऐन, २०७४ को दफा १४५ बमोजिम श्रमिक कटौती गरिएको जनाएको छ। मजदुर कटौतीअघि होटल व्यवस्थापनले ट्रेड युनियनसँग छलफल गरे पनि कुनै निष्कर्षमा पुग्न नसकिएको पत्रमा उल्लेख गरिएको छ। हयात रिजेन्सी नेपालका केही प्रतिष्ठित पाँचतारे होटलमध्ये एक हो, जहाँ देश–विदेशका उच्चस्तरीय पाहुनाहरू बस्दै आएका थिए।