सरकारले फिर्ता बोलाएका चार जना राजदूतले मात्र दिए राजीनामा
Prime TV News १० महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा हाजिर हुन बोलाएका ११ राजदूतमध्ये चार जनाले राजीनामा दिएका छन्।
राजीनामा दिनेमा बेलायतका लागि चन्द्रकुमार घिमिरे, चीनका लागि कृष्णप्रसाद ओली, कतारका लागि रमेशचन्द्र पौडेल र अमेरिकाका लागि लोकदर्शन रेग्मी रहेका छन्। यद्यपि उनीहरूको राजीनामा अझै स्वीकृत भएको छैन।
सरकारले कात्तिक २० भित्र नेपाल फर्कन भनेका राजदूतमध्ये रसियाका लागि नेपाली राजदूत स्वास्थ्य कारणले फर्किएका छैनन्। केही राजदूत नियमित रूपमा मन्त्रालयमा उपस्थित हुने गरेको भए पनि कतिपयले बिदामा बसेका छन्।
असोज ३० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको थियो। उक्त नियुक्ति २०८१ साउन १४ गते मन्त्रिपरिषद् बैठकमार्फत गरिएको थियो। यसै क्रममा अस्ट्रेलिया, भारत, डेनमार्क, श्रीलंका, दक्षिण कोरिया र दक्षिण अफ्रिकामा कार्यरत राजदूतको निर्णय यथावत राखिएको छ।
सर्वोच्च अदालतले कात्तिक १६ गते राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।







