कांग्रेसमा सहमति र एकताको बाटोबाटै समाधान खोज्नुपर्छः डा. शशांक कोइराला

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेसमा सहमति र एकताको बाटोबाटै समाधान खोज्नुपर्छः डा. शशांक कोइराला

काठमाडौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र उठेको विशेष महाधिवेशनको मागलाई द्वन्द्व होइन, सहमतिबाट समाधान गर्नुपर्ने बताएका छन्।

बुधबार जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोइरालाले पार्टी यस चरणमा विशेष महाधिवेशनमा जाने अवस्थामा नरहेको बताए। उनले भने, “विशेष महाधिवेशनको माग गर्ने साथीहरूको भावनालाई पनि सम्मान गर्दै केन्द्रीय समितिबाट सर्वसम्मत समाधान निकाल्नुपर्छ।

पक्ष विपक्षमा बाँडिएर विवाद बढाउनु अहिलेको आवश्यकता होइन।”डा. कोइरालाले बिपी कोइरालाको राष्ट्रिय मेलमिलाप र सामाजिक न्यायको नीति आज पनि सान्दर्भिक रहेको उल्लेख गरे। उनले अहिले देशमा देखिएको असन्तोष र विभाजनलाई कम गर्न कांग्रेसले अग्रसर भूमिका खेल्नुपर्ने बताए । उनले भने, “आजको नेपालमा पुरानो पुस्ता र नयाँ पुस्ता, मधेश र पहाड, लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनबीचको दूरी घटाएर द्वन्द्व व्यवस्थापन गर्नुपर्छ। कांग्रेसले यही बाटो लिनुपर्छ।”

कोइरालाले फागुन २१ गतेको आम निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियाको एकमात्र विकल्प भन्दै कांग्रेसले सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिए। उनले निर्वाचनमा जानका लागि सबै दल, नागरिक समाज र जनतामाझ एकता आवश्यक रहेको बताए।

“सरकारले प्रहरीबाट लुटिएका हतियार फिर्ता ल्याउन, जेलबाट भागेकाहरूलाई नियन्त्रणमा लिन र शान्त वातावरण बनाउनुपर्छ,” उनले भने, “कांग्रेसले त्यसका लागि दबाब बढाउनुपर्छ।” डा. कोइरालाले जेनजी आन्दोलनपछि सरकार परिवर्तन भए पनि संविधान यथावत रहेको स्मरण गराउँदै नयाँ निर्वाचित प्रतिनिधिसभाबाट संविधानमा आवश्यक संशोधन गरी जायज माग सम्बोधन गर्न सकिने बताए।

उनले संघीयता, समावेशिता, जनसंख्याका आधारमा प्रतिनिधित्व, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यप्रति कांग्रेसले दृढ रहनुपर्ने धारणा व्यक्त गरे। भदौ २३ र २४ का घटनाबारे टिप्पणी गर्दै कोइरालाले त्यो लोकतन्त्र र राष्ट्रिय सम्पदामाथिको आक्रमण भएको बताए। सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवासजस्ता ऐतिहासिक सम्पदामाथि आक्रमण हुनु अमानवीय रहेको उनको भनाइ थियो।