निर्वाचन तयारी तीव्र बनाउँदै आयोग, प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा उच्चस्तरीय छलफल
Prime TV News १० महिना अगाडि 
काठमाडौ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगका पदाधिकारीहरूले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा भेटवार्ता गरेका छन्।
देशको लोकतान्त्रिक भविष्यका लागि निर्णायक मानिएको यस निर्वाचनबारे आयोगले आफ्नो तयारी र चुनौतीहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले आयोगको कामको प्रगति प्रस्तुत गरे।
छलफलमा दल दर्ता प्रक्रियादेखि मतदाता नामावली अद्यावधिक, सुरक्षा ब्यवस्था र राजनीतिक दलहरूसँगको समन्वयसहित निर्वाचन तयारीका मुख्य पक्षहरूमा केन्द्रित भएको बताइएको छ ।
प्रधानमन्त्री कार्कीले मतदाता नामावली अद्यावधिकमा देखिएका समस्या र जनगुनासोलाई गम्भीर रूपमा लिएको बताउँदै आयोगलाई आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिइन्।
यसअघि पनि उनले भिडियो सन्देशमार्फत मतदाता नामावली संकलन प्रक्रिया सहज बनाउन निर्देशन दिएकी थिइन्। अब मतदाता नाम दर्ता गर्न चार दिन मात्र बाँकी छ।







