किस्ताबन्दीमा विद्युत् महसुल बुझाउने सहमती पछि, लाइन काटिएका उद्योगमा विद्युत् आपूर्ति सुचारु

User Image Prime TV News १० महिना अगाडि
Image of किस्ताबन्दीमा विद्युत् महसुल बुझाउने सहमती पछि,  लाइन काटिएका उद्योगमा विद्युत् आपूर्ति सुचारु

काठमाडौ । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका सबै उद्योग प्रतिष्ठानहरुले किस्ताबन्दीमा विद्युत् महसुल बुझाउने सहमती पछि देशभर लाइन काटिएका उद्योगमा विद्युत् आपूर्ति सुचारु गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता तिरेका उद्योगहरुमा लाइन वितरण भएको हो ।

बक्यौता नतिरेको भन्दै प्राधिकरणले देशभरका २५ उद्योगमा विद्युत् लाइन बन्द गरेको थियो । लाइन काटिएकामध्ये एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगले भुक्तानी गरेका छैनन् । ती दुवै उद्योग बन्द छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले प्रिमियम बक्यौताका कारण मात्रै कुनै उद्योगको लाइन काटिएको अवस्था नरहेको बताए  ।

प्राधिकरणले असोज १२ गते पूर्वसूचना गरेरै २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ दिन समय दिएको थियो । किस्ताबन्दी सुविधामा १४ करोड रुपैयाँभन्दा धेरै बक्यौता रहेको हुलास स्टिलले पहिलो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ बुझाएको थियो ।

सिमरामा रहेको अशोक स्टिल्सले पनि पहिलो किस्ता ६३ लाख रुपैयाँ भुक्तान गरेको छ ।