विद्युत् बक्यौता असुलीमा सफलता, ऊर्जामन्त्री घिसिङले दिए धन्यवाद
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । ऊर्जामन्त्री कुलमान घिसिङले लामो समयदेखि बाँकी रहेका विद्युत् बक्यौता असुलीमा ठोस प्रगति भएको भन्दै सबै पक्षप्रति धन्यवाद दिएका छन्।
उनले विगतमा बक्यौता उठाउने प्रयास गर्दा अवरोध गर्नेहरूकै कारण समस्याको पहाड बनेको तर अहिले सबैको सहयोगले ठोस सफलता हासिल भएको बताएका छन्।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै मन्त्री घिसिङले लेखेका छन्, “डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौतामध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूले तिरेका छन्। यससँगै बक्यौता असुली अब नयाँ चरणमा प्रवेश गरेको छ।”
उनले भनेका छन्, “विगतमा लोडसेडिङको अँध्यारोमा आम जनता पीडित भइरहेका बेला ठूला उद्योगहरूले विशेष सुविधामार्फत विद्युत् उपभोग गरेका थिए। तर ती उद्योगहरूले तिर्नुपर्ने प्रिमियम महसुल लामो समयसम्म तिर्ने प्रयास रोकिँदै आएको थियो।”
मन्त्री घिसिङका अनुसार नेपाल विद्युत प्राधिकरणले कानुनसम्मत रूपमा बारम्बार प्रयास गरे पनि राजनीतिक हस्तक्षेपका कारण महसुल असुलीमा अवरोध आएको थियो। उनले राज्यका जिम्मेवार निकायहरूकै उदासीनताका कारण यो विषय राष्ट्रिय सरोकारको मुद्दा बनेको बताए।
उनले बक्यौता तिर्न सुरु गरेका उद्योगीहरूलाई देशप्रतिको जिम्मेवारी बुझ्दै सकारात्मक कदम चालेको भन्दै धन्यवाद दिएका छन्। साथै, असुली अभियानमा सहयोग पुर्याएका प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग–वाणिज्य तथा आपूर्तिमन्त्री, र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूप्रति आभार व्यक्त गरेका छन्।
घिसिङले सबै नागरिकलाई कर र महसुल समयमा तिर्ने नागरिक बन्न अपिल गर्दै भनेका छन्, “राज्यप्रतिको दायित्व र उत्तरदायित्व पूरा गर्नु नै असली देशप्रेम हो।”













