सार्वजनिक निकायको काममा पारदर्शिता र सेवा प्रवाहमा सुधार गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक निकायहरूले गर्ने कार्यप्रणालीलाई निष्पक्ष, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय हुन निर्देशन दिएकी छिन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री कार्कीले सरकारी निकायहरूको कामकाज अपेक्षित रूपमा अघि नबढेको भन्दै असन्तुष्टि जनाइन्।
उनका अनुसार समीक्षा अवधिसम्म प्रधानमन्त्री कार्यालय र मातहतका निकायहरूको खर्च तथा कार्यान्वयन दर सन्तोषजनक देखिएको छैन। उनले भनिन्, “अब बाँकी अवधिमा सबै निकायका प्रमुखहरूले आफ्नो जिम्मेवारीलाई प्राथमिकता दिँदै तीव्र गतिमा अगाडि बढाउनुपर्छ।”
प्रधानमन्त्री कार्कीले २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण कतिपय योजना प्रभावित भएको उल्लेख गर्दै, त्यस घटनाबाट प्राप्त सन्देश अनुसार सेवा प्रवाहलाई जनतामुखी बनाउनुपर्ने आवश्यकता औंल्याइन्।
उनले थपिन्, “अब सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले जेनजी आन्दोलनको भावना र मर्मलाई आत्मसात् गर्दै सेवाग्राहीमैत्री, पारदर्शी र परिणाममुखी काममा जुट्नुपर्छ।” प्रधानमन्त्रीले सुशासन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणलाई सरकारको प्रमुख प्रतिबद्धता भएको पुनः दोहोर्याइन्।
उनले राष्ट्रिय सतर्कता केन्द्रलाई सार्वजनिक निकायहरूको कार्यप्रणालीमा हुने सम्भावित अनियमितता र असमान व्यवहारमाथि सूक्ष्म निगरानी र अनुगमन गर्न निर्देशन दिइन्। सरकारले हाल सञ्चालनमा रहेका विकास आयोजनाहरूको कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि आवश्यक समन्वय र पहल तत्काल गर्न सम्बन्धित निकायहरूलाई पनि निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।













