गगन थापाको आत्मसमीक्षा: शेरबहादुर देउवालाई सभापति बन्न दिनु मेरो ठुलो गल्ती भयो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७८ सालमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न दिनु आफ्नो सबैभन्दा ठूलो राजनीतिक गल्ती भएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै थापाले आफूले पार्टीभित्र पुराना नेताहरूको वर्चस्व तोड्न नसकेको आत्मस्वीकृति दिएका हुन्।
महामन्त्री लड्नु नै गल्ती भयो
उनले गएको महाधिवेशनमा महामन्त्रीमा लड्नु नै गल्ती भएको वताएका छन् । थापाले भने, “२०७८ सालको महाधिवेशनमा सभापति पदमा नलडेर महामन्त्रीमा उम्मेदवारी दिनु नै मेरो ठुलो गल्ती रह्यो। मैले २०६८ सालदेखि पार्टीमा बुढा नेताहरूलाई बिदा गरेर नयाँ नेतृत्व ल्याउनुपर्छ भन्दै आएको थिएँ, तर अन्ततः मैले त्यही बुढा नेताको नेतृत्वमा महामन्त्री बन्नु ठीक भएन।”
उनले पार्टीभित्र सिनियर नेताहरूको जन्जिर तोड्न नसक्नु अहिले ठूलो कमजोरीका रूपमा महसुस भइरहेको समेत बताए ।
स्थानीय तहमा गलत निर्णयको मूल्य
केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले २०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीले लिएको निर्णयप्रति पनि असन्तुष्टि समेत जनाए। उनले सभापति देउवालाई एउटा पालिकामा गलत निर्णय गर्दा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको भएपनि त्यसलाई बेवास्ता गरिएको बताए।
“मैले सभापतिलाई भनेको थिएँ, एउटा पालिकामा राम्रो निर्णय नगरे ठुलो परिणाम भोग्नुपर्छ। तर उहाँले ‘अब परिवर्तन गर्न सकिँदैन’ भन्नुभयो,” उनले स्मरण गरे।
गठबन्धनको विरोध र पछुतो
यस्तै महामन्त्री थापाले २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बनेको कांग्रेस–माओवादी गठबन्धनको पनि आलोचना गरे। उनले त्यसबेला गठबन्धन नगर्न सुझाव दिएको बताए । तर आफूले दिएको सुझाब नेतृत्वले नमान्दा अहिले त्यसको नतिजा भोग्नुपरेको टिप्पणी गरे ।
“माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन मत नहाल्न र कांग्रेस–एमालेबीच गठबन्धन नगर्न भनेको थिएँ,” थापाले भने, “तर त्यो विरोध सडकमा लिएर जान सकेनँ, अहिले लाग्छ त्यो पनि गल्ती भयो।”
साथै आफूहरुले रुपान्तरण र परिवर्तनको एजेण्डा उठाइ रहदा निर्वाचन प्रक्रिया भाग लिनु समेत गल्ती गरेकव भन्दै बैठकमा आत्माआलोचना गरेका थिए ।













