नेपाली कांग्रेसमा विशेष महाधिवेशनको दबाब तीव्र, थापागाउँमा युवाहरूको भेला
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको समयमा काठमाडौंको थापागाउँमा युवा कार्यकर्ताहरूले भेला भएर पार्टी नेतृत्वलाई औपचारिक रूपमा दबाब दिएका छन्।
विशेष महाधिवेशन पक्षधर युवाहरूले आयोजित भेलामा महासचिव गगन थापा सहित हस्ताक्षर अभियानमा सक्रिय शीर्ष नेताहरूको उल्लेखनीय उपस्थिति थियो। भेलाका वक्ताहरूले हालको राजनीतिक र संगठनात्मक परिस्थितिलाई असामान्य र जटिल भन्दै नियमित कार्यविधि अनुसार महाधिवेशन गर्न कठिन भएकाले विशेष महाधिवेशन आवश्यक भएको जिकिर गरे।
उनीहरूको तर्कमा जेनजी आन्दोलनपछिको पार्टीभित्रको तनाव, नेतृत्वको दिशा दृष्टि तथा आगामी निर्वाचनका चुनौती प्रमुख कारणका रूपमा प्रस्तुत गरियो। वक्ताहरूले विशेष महाधिवेशनका लागि काउन्टडाउन सुरु भइसकेको दाबी गर्दै पार्टीलाई ढिलाइ नगर्न चेतावनी पनि दिए।
उनीहरूले नयाँ नेतृत्व चयन गरेर मात्र कांग्रेसले आगामी चुनावमा प्रभावकारी रूपमा प्रस्तुत हुन सक्ने दावी गरेका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले समेत पछिल्ला दिनमा नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन अपरिहार्य हुने भन्दै आएका छन् ।
यतिबेला कांग्रेसभित्र नेतृत्व परिवर्तन, संगठन पुनर्संरचना र पार्टीको वैचारिक पुनर्स्थापनाबारे बहस चर्किएको छ। यसैबीच, महासचिव थापाले मंसिर २७ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव विहीबार केन्द्रीय समितिमा पेश गरिसकेका छन्।







