सिंगापुरबाट आज फर्किँदै कांग्रेस सभापति देउवा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा १८ दिनको उपचारपश्चात सिंगापुरबाट आज (शुक्रबार) नेपाल फर्किने भएका छन्।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार देउवा दम्पती आजै काठमाडौं आइपुग्ने कार्यतालिका भए पनि विमानस्थलमा अवतरण गर्ने ठ्याक्कै समय भने अझै निश्चित नभएको बताइएको छ। “उपचारका लागि सिंगापुर जानुभएको सभापति देउवा दम्पती आज फर्किने कार्यक्रम छ, तर कुन समयमा आइपुग्छन् भन्ने एकिन छैन,” महतले बताए।
देउवा र उनकी श्रीमती कात्तिक १० गते राति उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। उनीहरूलाई ‘जेनजी आन्दोलन’का क्रममा भदौ २४ गते बुढानीकण्ठस्थित निवासमै पुगेर कुटपिट गरिएको थियो।
सो घटनामा गम्भीर घाइते बनेका दुवैले करिब एक महिनासम्म छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए। घटनापछि सार्वजनिक कार्यक्रममा कमै देखिएका देउवा असोज २८ गते मात्र पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए।
त्यसैदिन उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। सिंगापुरबाट फर्किएपछि देउवाको स्वास्थ्य अवस्था र आगामी राजनीतिक गतिविधिबारे कांग्रेसभित्र चासो बढेको छ।













